म्याच फिक्सिङ गोप्य राख्न गणेश थापाले पशुपतिनाथको कसम खुवाएका थिए

आश्विन २८, २०७२- फुटबल खेलमा मिलोमतो गरेको आरोपमा बुधबार पक्राउ परेका ४ खेलाडी र एक प्रशिक्षक मध्ये कप्तान सागर थापा र प्रशिक्षक अन्जन केसी नै मुख्य अरोपी भएको प्रहरीले जनाएको छ ।

खेल मिलोमतोको आरोपमा अन्य ३ खेलाडी एक अफिसियल र एक बैंकको कर्मचारीको खोजी भइरहेको छ । महाशाखाका प्रमुख खनालका अनुसार सबै खेलाडीले आफ्नो संलग्नता रहेको स्वीकारेका छन् । उनीहरुले कुनै अफिसियलको नाम भने लिएका छैनन् । ‘उनीहरुले हामीले पैसा लिएका हौं भनेका छन्,’ उनले भने, ‘तर कुनै पनि अन्य अफिसियल वा खेलाडीको नाम भने खुलाएका छैनन् ।’

प्रहरीका अनुसार सन् २००८ देखि यताका अधिकांश अन्तर्राष्ट्रिय म्याच फिक्स्ड भएका छन् । प्रहरीका अनुसार सागर थापा र अन्जन केसीलगायतको मिलोमतो २००८ देखि नेपाली फुटबलमा फिक्सिङ हुन थालेको हो । प्रशिक्षक केसीले खेलाडी छँदै मिलोमतो गर्न थालेको र पछि प्रशिक्षक नियुक्त भएपछि त्यसको दायरा झन् बढेको खनालले बताए ।
प्रहरीका अनुसार हाल ६ वटा खेलमा निश्चित गोल अन्तरले पराजित हुने सर्तमा खेलाडीहरुले पैसा लिने गरेको खुलेको छ । जसअन्तर्गत सन् २००८ मा मलेसियामा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल्न प्रति खेलाडी ५ हजार डलर लिएका थिए । त्यसपछि २००९ को साफ च्याम्पियनसिपमा जम्मा ३ हजार ३१ डलर लिई दामासाहीमा बाँडी लिएको खुलेको छ । २०११ मा मलेसियासँगको मैत्रीपूर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा, २०११ मा फिलिपिन्ससँग भएको मैत्रीपुर्ण खेलमा ४–० ले र २०१४ मा कोरियामा भएको एसियाली खेलकुदमा खेल हार्ने सर्तमा खेलाडीहरुले प्रति खेलाडी ५ हजार डलर लिएका थिए ।

२०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्त भए पनि खेल ५–० ले पराजित भएपछि उक्त खेलको पैसा नपाएको पक्राउ परेका खेलाडीले बताएका छन् । ‘खेल अन्ततिर गोलकिपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन भएपछि भने अनुरुपको नतिजा निकाल्न नसक्दा पाउने पैसा नपाएको रितेशले बताएको छ,’ खनालले रितेशको बयान उदृत गर्दै भने । रितेश सो खेलका क्रममा घाइते भएपछि विकेश कोथुले नेपाली गोलपोष्ट समहालेका थिए । राष्ट्रिय टोलीबाट विकेशको त्यो पहिलो खेल थियो ।

म्याच फिक्सिङ गरी खेल हारेवापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने प्रमुख व्यक्तिहरू सिंगापुरको नागरिक विल्सन राज र टेटानीपेरियास्यामी छन् भने हाल माल्डोभामा रहेका मलेसियन नागरिक केशावान पट्टान छन् । उनीहरुको एजेन्टबाट अन्जन केसी र रितेश थापाले विभिन्न देशहरुबाट मनि ट्रान्फर मार्फत पैसा लिने गरेको समेत खुलेको छ । खेलाडीहरुलाई पैसा विशेष गरी वेस्ट्रन युनियन र साइबर मनि ट्रान्फरबाट प्राप्त हुने गरेको उनीहरुले प्रारम्भि बयानमा स्वीकार गरेका छन् ।

केहि समय अघि विदेशी सञ्चारमाध्यमले नेपालको खेल मिलेमतोका विषयमा खुलासा गरेपछि एन्फा अध्यक्ष गणेश थापाले खेलाडीहरुसँग गोप्य बैठक राखेर यो कुरा कतै खुलासा नगर्न कडा निर्देशन दिएका थिए । उनले पशुपतिनाथको कसम खुवाउँदै चुपचाप बस्ने र कतै पनि कुरा नचुहाउने बाचा गराएका गोप्य बैठकमा सहभागी खेलाडीहरुले बताएको  जनाइएको छ । नेपाली खेलाडीले खेल मिलेमतो गरेको विषयमा एसियाली फुटबल महासंघ (एएफसी) ले समेत निकै अघिदेखि निगरानी गर्दै आएको थियो।

0 टिप्पणियाँ

Write Down Your Responses