भारतले फेरी अर्को विज्ञप्ति जारी गर्दै नेपाललाई दबाब दियो
काठमाडौं—संविधान सभाबाट संविधान जारी भएकोमा असन्तुष्ट बनेको भारतले २४ घन्टा निबित्दै सोमबार दोस्रो विज्ञप्ति जारी गरेर नेपाली राजनीतिमाथि दवाब दिएको छ।
नेपालको तराई क्षेत्रमा भइरहेको आन्दोलनको विषयलाई देखाएर भारतीय पक्षले संविधान जारी नगर्ने सल्लाह अस्वीकारको प्रतिशोधका लागि दवाब बढाएको हो।
तराईमा भइरहेको आन्दोलनका कारण भारतीय भारतीय कार्गो कम्पनी तथा ट्रान्सपोर्ट कम्पनीलाई अप्ठ्यारो परेको भन्दै आन्दोलनका क्रममा उनीहरुले सुरक्षा चासो देखाएको उल्लेख गरेको छ। 'सो क्षेत्रमा नेपालको नेतृत्वले तत्काल आन्दोलन शान्त पार्न तत्काल कदम चालोस्', भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, 'यदि यसलाई समयमै गर्न सकिएको भए अहिलेको गम्भीर अवस्था आउने थिएन।'
संविधान सभाबाट संविधान जारी हुनुपूर्व उसले प्रक्रिया रोक्न शीर्ष नेतृत्वमाथि दवाब दिएको थियो। नेपालको जनप्रतिधिमूलक संस्था संविधान सभाबाट अत्यधिक बहुमतले पारित भएको थियो। उसका पछिल्ला दवाबहरुलाई त्यसकै प्रतिशोधको रुपमा हेरिएको छ। मधेसमा ठोस मुद्दाबिहीन अान्दोलन चर्किनुमा भारतीय सहयोग रहेको कतिपय विश्लेषकहरुको विश्वास छ। संविधान जारी हुने बित्तिकै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि अप्रत्यक्ष रुपमा जाहेर गरेको थियो । विज्ञप्तिमा उसले ‘नेपालमा संविधान जारी भएको थाहा भएको’ भन्दै घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरेको थियो भने संविधान जारी भएकोमा शुभकामनासमेत दिएको थिएन ।


0 टिप्पणियाँ
Write Down Your Responses