नेपाली कांग्रेसले राष्ट्रपतिमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई समर्थन गर्ने।
आश्विन २८, २०७२- कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ । कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे छलफल भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बिहीबार साँझ ठाकुरसहित कांग्रेस पदाधिकारीहरु बीच छलफल भएको थियो ।आन्दोलनरत मधेशी मोर्चाले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेका थिए । आन्दोलनरत दलका नेता ठाकुरलाई राष्ट्रपति बनाए तराई–मधेशमा जारी आन्दोलन मत्थर हुने बुझाई कांग्रेसको छ । साथै मधेशमा कांग्रेसको आधार समेत मजवुद हुन सक्ने बुझाई कांग्रेसका नेताहरुले गर्दै आएका छन् । ‘प्रधानमन्त्री निर्वाचनले तराई–मधेशलाई जोड्ने काम गरेको छ । आधा समस्या समाधान भएको छ,’ पदाधिकारी बैठकमा सहभागि कांग्रेसका एक नेताले भने, ‘राष्ट्रपति दिएर समस्या समाधान हुन्छ भन्ने किन नदिने भन्ने आवाज कांग्रेसमा छ ।’ कांग्रेस भित्रै कतिपय नेताले भने वर्तमान राष्ट्रपति रामवरण यादवलाई अघि सार्नुपर्ने तर्क पनि गर्दै आएका छन् । बैठकमा कांग्रेसका पूर्व महामन्त्री कुलबहादुर गुरुङ र पार्टी कोषाध्यक्ष चित्रलेखा यादवको नाम पनि चर्चामा चलाईएको थियो । ठाकुरलाई उम्मेदवार बनाए एमाओवादी र गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम समेत सकारात्मक हुन सक्ने अनुमान कांग्रेसको छ । गच्छदारले संविधानको कार्यन्वयन र प्रदेशको संरचना बनाउने चूनौतिपुर्ण घडिमा कांग्रेसलाई सँगै लैजानु पर्ने बताउँदै राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन । कांग्रेस प्रवक्ता दिलेन्द्र बडुुले प्रधानमन्त्री निर्वाचनमा समर्थन जनाउने राजनीतिक दल र स्वयं सत्तारुढ घटकसँग समेत उम्मेदवारका बिषयमा छलफल भइरहेको बताए । ‘अहिल्यै कुनै पनि टुंगो लागेको छैन,’ उनले भने ।


0 टिप्पणियाँ
Write Down Your Responses