अञ्जन केसीले सिक्किममा करोडौं लगानी गरेर क्यासिनो सञ्चालन-चरीसंगको पार्टनरसिपमा धेरै ठाउँमा लगानी
म्याच फिक्सिङको आरोपमा प्रहरी नियन्त्रणमा रहेका पूर्वराष्ट्रिय खेलाडी अञ्जन केसीको इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीको पार्टनरसिपमा धेरै ठाउँमा लगानी रहेको खुलेको छ।
जग्गा, रेष्टुरेन्ट, क्यासिनो, हाउजिङ लगायतका स्थानमा चरीसँग केसीको पार्टनरसिपमा लगानी रहेको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान सुरु गरेको छ।
उनीसहित कप्तान सागर थापा, सन्दीप राई, विकाससिंह क्षेत्री र रितेश थापालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको थियो। ‘केसीको चरीसँगको नेटवर्क पत्ता लागेको छ, उनले गुन्डा नाइकेहरुसँग मिलेर विभिन्न क्षेत्रमा लगानी गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ महाशाखाका एसएसपी सर्वेन्द्र खनालले सेतोपाटीसँग भने, ‘केही दिनपछि सबै सार्वजनिक होला।’
थ्रि-स्टार क्लवका पूर्वप्रशिक्षक समेत रहेका केसीको फेसबुक हेर्दा प्रहरीले चरीसँग उनको गतिलै सम्बन्ध रहेको तथ्य फेला पारेको थियो। डेढ वर्षअघि महाशाखाकै इन्काउन्टरमा चरि मारिँदा उनले विरोध समेत जनाउँदै आएका थिए। वि.स. २०६३ सालतिर खेलाडी प्रदीप महर्जनसँग मिलेर जावलाखेलमा रक्सी पसल खोलेका केसीको आर्थिक हैसियत ५ वर्षदेखि निकै उकालो लागेको प्रहरीले जनाएको छ।
रक्सी पसल छाडी उनले झम्सिखेलमा खेलाडी सन्दीप राईसँग मिलेर लाखौंको लगानीमा रेष्टुरेन्ट समेत खोलेका थिए। त्यसपछि जग्गाको एजेन्ट भएर काम गर्दा चरीसँग चिनजान भएको उनले प्रहरीसमक्ष बताएका छन्।
‘काठमाडौंकै एक हाउजिङ कम्पनीमा लफडा हुँदा उनले चरीलाई सहयोग गरेको उनी निकटका साथीहरूले बताएका छन्। पछिल्लो समय सिक्किममा समेत करोडौं लगानी गरेर क्यासिनो सञ्चालन गरेको पाइयो,’ एसएसपी खनालले भने, ‘त्यसपछि उनका सम्पत्तिका कत्ति छ भनेर अहिले छानबिन गरिरहेका छौं।’
प्रहरी सूचीमा मोस्ट वान्टेड हुँदा चरी भारतको गोवामा गएर लुकेको समयमा नेपालबाट अन्जनले लाखौं रुपैयाँ पठाएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। हुन्डी र ढुकुटीमा पनि अन्जन सहभागी भएको प्रहरीले जनाएको छ। गुन्डानाइकेसँग साँठगाँठ रहेका कारण उनीमाथि राजद्रोह, संगठित अपराध र गुन्डागर्दीको मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ।


0 टिप्पणियाँ
Write Down Your Responses