नेपाल समुह 'बी' बाट भारतको टिकट काट्न सफल
काठमाडौं- अन्तिम खेलमा आइतबार ओमानसँग पराजित भए पनि नेपाल उत्कृष्ट चार उपविजेताका रुपमा एएफसी यु–१६ च्याम्पियनसिपको अन्तिम चरणमा प्रवेश गरेको छ।
हारले नेपाल विजेताका रुपमा छनोट नभए पनि उत्कृष्ट चार उपविजेतामध्ये एकका रुपमा समुह 'बी' बाट भारतको टिकट काट्न सफल भएको हो। आइतबारै ढिलोगरी सम्पन्न समुह चरणको अन्तिम खेलमा कीर्गिस्तानले जोर्डनलाई ४–१ को नतिजामा हराएपछि नेपाल उपविजेता बन्दै छनोटको सम्भावना जीवित राख्न सफल भएको थियो।
कीर्गिस्तानको बिस्केकमा अघिल्ला दुई खेल जितेको नेपालले आइतबार बराबरीमात्र गरेको भए पनि अर्को वर्ष भारतमा हुने एएफसी यु–१६ च्याम्पियनसिपमा समुह विजेताका रुमा छनोट हुने थियो। तर अनपेक्षित रुपमा ओमानसँग ३–१ को स्तव्धतापूर्ण हार बेहोरेपछि नेपाल उपविजेताको भर्यााङ चढन बाध्य भएको थियो। छनोट चरणका ११ समुहका सबै विजेतासहित उत्कृष्ट चार उपविजेता भारतयात्राका लागि छानिने व्यवस्था थियो।
विजेताका रुपमा उज्वेकिस्तान, ओमान, इराक, साउदी अरेबिया, इरान, कुवेन, मलेसिया, उत्तर कोरिया, दक्षिण कोरिया, अस्ट्रेलिया र जापान आ–आफ्नो समुहबाट विजेताका रुपमा सोझै भारतयात्रालाई छानिदा उत्कृष्ट उपविजेताका रुपमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई), भियतनाम र थाइल्यान्ड छनोट भए। आयोजकको नाताले साझेै छनोट भएको भारत पनि उत्कृष्ट उपविजेताका रुपमा समूह 'इ' बाट छनोट भयो। भारत उत्कृष्ट चार उपविजेतामा परेपछि पाँचौं टोलीले मौका पाएको थियो।
पुछारको टोलीविरुद्धको नतिजा उत्कृष्ट उपविजेता चयनमा अर्थपूर्ण नहुने भएकाले जोर्डनसँगको नेपालको नतिजा गनिँदैन। त्यसैले नेपालको सम्भावना थप बलियो बनेको हो।
समुह 'बी' मा नेपाल र ओमानको समान ६ अंक भए पनि हेड टु हेड र गोल अन्तर दुवैमा पछि परेका कारण नेपाल उपविजेतामा सिमित भएको थियो। जसका कारण जोर्डनलाई २–१ ले हराउँदै प्रतियोगितामा सानदार सुरुआत गरेको नेपाल सोझै छनोट हुनबाट बञ्चित भयो। नेपालले दोस्रो खेलमा आयोजक किर्गिस्तानलाई ४–२ ले हराउँदै विजय अभियानलाई निरन्तरता दिएको थियो। २–० ले पछि परेको खेल उल्टाउँदै नेपाली युवा टोलीले घरेलु टोलीमाथि ४–२ को विजयी नतिजा निकालेको थियो।
अविजित यात्रामा पूर्णविराम लागेपछि प्रशिक्षक उपेन्द्रमान सिंहले योजना अनुसार खेल्न नसकेको बताए। 'ओमान राम्रो टोली हो। हामीले सुरुदेखी नै ओमानसँग सतर्क भएर खेल्ने रणनीति बनाएका थियौैं। तर हामीले पहिलो दुई खेलमा जस्तो प्रदर्शन गर्न सकेनौं,' उनले भने।
अल जाबीले ११ औं मिनेटमा गोल गर्दै ओमानलाई अग्रता दिलाएका थिए। अल खाम्सीले पेनाल्टी अवसरमा गोल गरेपछि ओमानले पहिलो हाफमा २–० ले अग्रता लियो। प्रिजन तामाङले ८८औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे। तर इन्जुरी समयमा क्विदीले गोल गरेपछि नेपाल ३–१ ले पराजित भयो।
ओमानका प्रशिक्षक याकुव साउद साइतले आफूहरु दबाबमा रहे पनि रणनीति सफल हुँदा नतिजा सुखद भएको प्रतिक्रिया दिए। उनले भने, 'हामीले नेपालको खेल हेरेका थियौं। उनीहरु निकै तीव्र गतिमा खेल्थे। नेपालको खेलअनुसारको रणनीति बनाएका थियौं। त्यो सफल भयो।'
छनोट चरणमा नेपालले तीन खेलमा विपक्षीको पोस्टमा ७ गोल गर्दै ६ गोलको सामना गर्यो।
दुई वर्ष अघि काठमाडौंमा भएको एएफसी यु–१६ च्याम्पियनसिपको छनोट चरणबाट विमल घर्ती मगरको कप्तानीमा रहेको नेपाली टोली अन्तिम चरण पुग्न सफल भएको थियो।


0 टिप्पणियाँ
Write Down Your Responses