प्रचण्डले टुँडिखेलबाट भारतलाई सिधै भने, हामी भारतको गुलाम हुन सक्दैनौं
काठमाडौ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत नेपालको अभिन्न मित्र भए पनि नेपाल भारतको गुलाम (एसमेन) हुन नसक्ने बताएका छन् ।
नयाँ संविधान जारी भएपछि टुँडिखेलमा आयोजित विजयसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, हामी भारतको सच्चा मित्र हौं तर मित्र हुँदैमा उसको एसमेन हुनसक्दैनौं । उनले भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न आफूहरु तयार रहेको बताउँदै भने, हामी मित्रका जायज चासो र चिन्तालाई सहयोग गर्न तयार छौं तर उसले पनि हाम्रा जायज चासो, चिन्ता र आवश्यकतालाई सहयोग गर्नुपर्छ र सम्बोधन गर्नुपर्छ । मधेसमा जारी आन्दोलनका बाबजुद संविधान जारी भएकोमा भारत असन्तुष्ट बनेपछि प्रचण्डले यो भनेका हुन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदुत रेलाई दिल्ली बोलाएका छन् । संविधान जारी भइसकेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो असन्तुष्टि अप्रत्यक्ष रुपमा जाहेर गरेको थियो । विज्ञप्तिमा उसले ‘नेपालमा संविधान जारी भएको थाहा भएको’ भन्दै घुमाउरो पाराले असन्तुष्टि व्यक्त गरेको थियो भने संविधान जारी भएकोमा शुभकामनासमेत दिएको थिएन ।
संविधान जारी हुनु दुई दिन अघि भारत सरकारले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रुपमा नेपाल पठाएको थियो । उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख दलका नेताहरु र मधेसवादी दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
भेटवार्तामा भारतीय विशेष दूत जयशंकरले मधेसमा जारी आन्दोलनका बाबजुद मधेसीको माग सम्बोधन नगरी संविधान जारी गर्दा नेपालसँग सीमा जोडिएका भारतीय भूभागमा पर्ने असरबारे चासो राखेका थिए भने संविधान जारी भएमा भारतले समर्थन नगर्दा कस्तो असर पर्ला भनेर चेतावनीयुक्त सन्देश पनि दिएका थिए ।
मधेसका माग सम्बोधन गर्नका लागि उनले दिएको सुझावलाई प्रमुख दलले ‘संविधान जारी भइसकेपछि सहमतिका लागि प्रयास गर्ने’ पन्छाएका थिए ।
आखिर संविधान जारी भयो नै तर भारतीय विदेश सचिवले धम्की दिए झैं भारतले नयाँ संविधान जारी भएकोमा समर्थन जनाएन ।
यही परिस्थितीमा भारतीय राजदूत रेलाई भारत सरकारले दिल्ली बोलाएको छ । राजदूत रेले भारत सरकारलाई नेपालको राजनीतिक परिस्थितीबारे ब्रिफिङ गरेपछि भारतले नेपालबारे नयाँ रणनीति बनाउने कुटनीतिक विश्लेषकहरु बताउँछन् ।
स्मरणीय छ, संविधान जारी गर्न आयोजित विशेष समारोहमा भारतीय राजदूतलाई नेपाल सरकारले आमन्त्रण गरे पनि उनी समारोहमा सहभागी भएनन् । सरकारले नेपालस्थित सबै विदेशी कुटनीतिज्ञलाई विशेष समारोहमा उपस्थितीका लागि आमन्त्रण गरेको थियो । भारतीय राजदूत रे आइतबारको सो कार्यक्रममा सहभागी भएनन् । उनी रात्रीभोजमा पनि सहभागी नभएको परराष्ट्र स्रोतले जनायो ।


0 टिप्पणियाँ
Write Down Your Responses