विश्वकै होचा डाँगीको शव नेपाल ल्याइँदै
काठमाडौँ: विश्व होचा चन्द्रबहादुर डाँगीको शव नेपाल ल्याउन लागिएको छ। अमेरिका राज्यको पूर्वी सामुआ टापुमा उपचारका क्रममा निधन भएका डाँगीको शब १२ दिनपछि नेपाल तर्फ ल्याउन लागिएको हो। सामुआमै रहेका उनका भतिजा दोलखका अनुसार डाँगीको शव नेपाल ल्याउनका लागि वुधवार पूर्वी सामुआबाट पश्चिम सामुआ पुर्याइएको छ।
पूर्वी सामुआबाट कार्गो विमान मार्फत डाँगीको शब पश्चिम सामुआ पुर्याइएको हो। यी दुई स्थानको दुरी बिमानबाट एक घण्टाको छ। पश्चिम सामुआ पुर्याइएको शव त्यहाँबाट फिजी हुँदै हङ्कङ र हङकङ्बाट नेपाल ल्याईने दोलखले बताए। ‘त्यही अनुसार चाँजोपाँजो मिलाईएको छ,’उनले नागरिकन्युजसँग फोनमा भने। दोलख भने भिसा नभएका कारण अहिले पूर्वी सामुआमै छन्। उनी बिहीबार पानीजहाज मार्फत पश्चिमी सामुआ जाने र त्यहाँबाट ट्रान्जिट गर्दै नेपाल फर्किने उनले बताए।
पश्चिमी सामुआमा रहेका नेपाली योगेन्द्र दहाल क्षेत्रीले पनि डाँगीको शव पश्चिमी सामुआमा आइपुगेको र त्यहाँबाट हङ्कङ्को टिकट सुनिश्चित भैसकेको बताए। ‘मैले सुने अनुसार दोलख पश्चिमी सामुआ आईपुगेपछि ट्रान्जिट गर्दै नेपालसम्मको टिकटको व्यवस्था भएको छ रे,’योगेन्द्रले भने ’अहिले काका (डाँगी) को शब यहाँ आईपुगेको छ।’ हाल प्रकृया पुरा भएकाले डाँगीको शब अवको चार,पाँच दिन भित्रमै नेपाल पुग्छ।
यसअघि डाँगी उपचाररत अस्पतालमा उपचार खर्च तिर्न नसकेका कारण डाँगीको शब अस्पतालमै थियो। क्रिश्चियन धर्मावलम्बी तथा डाँगीलाई सामुआ पुर्याएको सर्कश कम्पनीले अस्पतालमा लागेको १९ हजार अमेरिकी डलर तिरिदिएपछि शब ल्याउन सहज भएको हो। डाँगीको शब नेपाल ल्याउनका लागि आवश्यक आर्थिक तथा अन्य चाँजोपाँजो पनि सोही सर्कश कम्पनीलेनै मिलाईदिएको दोलखले बताए। सामुआ स्थित सर्कश कम्पनीमा फोटो शेसन गर्ने काममा डाँगी ६ महिनाका लागि अनुवन्धित थिए। सोही क्रममा उनको भदौ १८ मा निमोनियाका कारण मृत्यु भएको थियो ।
समाचार स्रोत: नागरिक न्युज


0 टिप्पणियाँ
Write Down Your Responses