३८ लाख रुपैयाँमा बिक्यो एउटा टुना माछा
जापानको टोकियो शहरको माछा बजारमा आयोजना गरिएको सन् २०१५ को पहिलो लिलामीमा एउटा विशाल ब्लुफिन टुना माछा ३७ हजार डलर (करिब ३८ लाख नेपाल रुपैयाँ) भन्दा बढीमा विक्री भएको छ ।
पछिल्लो समय संकटमा रहेको उक्त माछाको खपतमा कमी ल्याउन जापानमाथि दबाब आइरहेको बेला एउटै माछा लाखौं रुपैयाँमा विक्री भएको छ ।
१८०.४ किलोग्राम वजन भएको उक्त टुनालाई जापानको उत्तरी भागबाट समातिएको थियो । लिलामीमा उक्त माछाले ४.५१ मिलियन येन (३७,४८० डलर) बोली पाएको थियो ।
तर, यो मूल्य अहिलेसम्मको धेरै भने होइन । सन् २०१३ मा हङकङको एक रेस्टुरेन्टले यस वर्षको भन्दा अलि ठूलो ब्लुफिनलाई रेकर्ड १५५.४ मिलियन येन तिरेको थियो । यद्यपि त्यस वर्षदेखि भने लिलामी रकम क्रमशः ओरालो लाग्ने क्रममा रहेको छ ।
लिलामी जित्ने सुसी जानमाइ रेस्टुरेन्टका अध्यक्ष कियोसी किमुराले यति कम बोलीमा नै आफूले उक्त माछा पाएकोमा आश्चर्य चकित बनेको बताएका छन् । तर म यसबाट खुसी छ । माछाको गुणस्तर निकै राम्रो छ, उनले भने । विरोधी बोली नलाग्दा यसरी ब्लुफिनको मूल्यमा कमी आएको बताइएको छ ।
ब्लुफिन टोकियोको सुकिजी माछा बजारमा पाइने सबैभन्दा महंगो माछा हो । विश्वभर जापानी सुसीको माग बढेको हुँदा यसको मूल्यमा वृद्धि भएको छ ।
यस माछाको माग बढिरहँदा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले भने यो माछाको भविष्य संकटमा रहेको बताउँदै यसको व्यापारमा कमी ल्याउन दबाब दिँदै आइरहेको छ
साभार: रातोपाटी


0 टिप्पणियाँ
Write Down Your Responses