देहव्यापार गर्ने बादी महिलाहरु अन्य पेसामा

समाज सुधार्न समुदाय नै लाग्नुपर्छ भन्ने गतिलो उदाहरण बनेको छ राजापुर अनन्तपुरको बादी समुदाय। समुदायले सक्रियता देखाएपछि अनन्तपुरको देहव्यापार नियन्त्रणमा आएको छ भने बादी समुदाय वैकल्पिक पेसामा आबद्ध भएका छन्।
राजापुरको ‘रेडलाइट क्षेत्र' भनेर चिनिने बादी बस्तीको पहिचान फेरिएको छ। बादी समुदायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। यौनलाई पेसाका रुपमा अंगाल्दै आएका बादी समुदाय आयआर्जनका वैकल्पिक पेसामा रमाउन थालेका छन्।
स्थानीय युवाले गस्ती गर्न थालेपछि समुदायमा हुने यौनजन्य क्रियाकलाप रोकिएको छ। दिनरातै गस्ती बढाएपछि खुलेआम हुँदै आएको देहव्यापार पूर्णरूपमा बन्द भएको नवनिर्माण टोलसुधार समिति राजापुरका अध्यक्ष विकाससिंह ठकुरीले बताए। 
स्थानीयको देहव्यापार निरुत्साहन अभियानमा प्रहरी–प्रशासनले पनि साथ दिएको छ। स्थानीयमा देहव्यापार गैरकानुनी हो भन्ने सन्देश फैलाउन ठाँउ–ठाउँमा ‘देहव्यापार निषेधित क्षेत्र' लेखिएका बोर्ड राखिएको छ, राजापुर नगरपालीकाका मुख्य चोकमा पर्चा तथा पम्प्लेट टाँसिएको छ। देहव्यापार उन्मूलन गर्ने उद्देश्यले ११ सदस्यीय कार्यसमिति बनाइएको छ। 
सरकारले यौनपेसा छाड्नेलाई गाँसबासको व्यवस्था र सन्तानलाई निःशुल्क शिक्षाको व्यवस्थालगायत विशेष प्याकेज घोषणा गरे पनि कार्यान्वयन नगरेको वादी समुदायले दुखेसो गरेको छ। २०६५ पुस २३ गते मन्त्रिपरिषदले यौनपेसा उन्मूलन घोषणा गरेको थियो। 

0 टिप्पणियाँ

Write Down Your Responses