लभ गरेको भन्दै बाबुद्वारा छोरीको हत्या

वीरगन्ज:  छिमेकी युवासँग प्रेम सम्बन्ध राखेकै कारण पर्साको लापर्साकी एक किशोरीको बुवाले हत्या गरेका छन् । छोरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ती किशोरीका बुबाआमासहित चार जनालार्इ हिरासतमा लिएपछि घटना सार्वजनिक भएको हो। 

 लालपर्सा गाविस-८ की १४ वर्षीया फुलमति कुमारीको हत्या उनकै बुबा रमेश महत्तो धानुकले गरेको रहस्य खुलेको हो।  छोरी फुलपति र छिमेकी युवक मुन्ना साह तेलीबीच प्रेम सम्बन्ध रहेको हल्ला गाँउमा फैलिएपछि आवेशमा आएका रमेशले छोरीलार्इ कुटेर मारेका हुन्। गत पुष ७ गते छिमेकी बेल्वा गाविसमा लागेको मेलामा फुलमति आफ्नी बहिनीसँगै गएकी थिइन्। 
मेलामा फुलमति र मुन्नाबीच भेटघाट भएको खबर उनकी बहिनीले राती घर फर्किएर आमा बुबालार्इ दिइन्। त्यसपछि आवेशमा आएका रमेशले त्यही रातमा फुलमतिलार्इ निर्घात रूपमा कुटपिट गरेपछि ज्यान गएको हो ।  
कुटपिटबाट फुलमतिको मृत्यु भएपछि पुस ९ गते बिहान मिर्मिरेमै रमेशले छोरीको शव गाउँको उखुरीबारीमा जलाएर घटना लुकाउने प्रयास गरे। रमेशले आफ्नी छोरी कुटेर मारेको खबर गाँउका मुखिया नागेन्द्र महत्तो धानुक र रामप्रवेश कलवारले त्यही बेला थाहा पाइसकेका थिए। 
शव जलाएको दुइ तीन दिनपछि उनीहरूले रमेशसँग पैसा माग्न शुरु गरेका थिए । पैसा नदिए घटनाबारे प्रहरीलार्इ खबर गरिदिने भन्दै दिदै दुवैजनाले रमेशलार्इ पटक पटक दबाब र धम्की दिन थालेपछि फुलमतिको हत्याको खबर गाँउभरी फैलियो।  

गाउँलेबाट खबर पाएलगत्तै गत शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सा र परवानीपुर प्रहरी चौकीको संयुक्त टोलीले उखुबारीबाट जल्न बाँकी रहेका हड्डी र अवशेष संकलन गरेको थियो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा चार जनालार्इ हिरासतमा लियो। प्रहरीले फुलपतिका बुबा रमेश ,आमा निशा देवी,रमेशलाइ धम्की दिने नागेन्द्र र रामप्रवेशलार्इ हिरासतमा लिएको हो। 
हिरासतमा रहेका रमेशले छोरीले घरमै पासो लगाएर आत्महत्या गरेको बताएको प्रहरी नायव उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए। 'घटनाको प्रकृति हेर्दा घटना आत्महत्याजस्तो पटक्कै देखिन्न, हत्याकै आशंका बढी छ' ,उनले भने।
'आत्महत्या गरेको भए रातारात शव उखुबारीमा जलाउनु पर्ने कुनै कारण थिएन', उनले थपे, 'शव पनि सम्सानघाटमा नलगी, उखुरबारीमा जलाइएको भेटिएकाले शंका अझै बढेर गएको छ ।

0 टिप्पणियाँ

Write Down Your Responses