के नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउने नै हो त ?

नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा माथिल्लो स्तरका टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाल डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने अवसर नजिक पुगेको राष्ट्रिय टोलीका प्रशिक्षक पुुबुदु दासानायेकले बताएका छन्।
नेपाल र केन्यालाई ५० ओभरको विश्व क्रिकेट लिग खेल्न दिनेबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) मा प्रस्ताव गएको जानकारी दिँदै पुबुदुले भने, ‘आइसिसीमा प्रस्ताव गइसकेको छ, त्यहाँ प्रस्ताव जानु भनेकै ९९ प्रतिशत निर्णय हुनु हो।'
उनका अनुसार दुबईमा बुधबार र बिहीबार बस्ने आइसिसी कार्यसमिति बैठकले यस विषयमा अन्तिम निर्णय गर्नेछ। नेपालले चार वर्षपछि हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउने पनि पक्का भइसकेको छ।
‘डिभिजन २ को शीर्ष दुई स्थानमा पर्न नसके पनि नामिबिया यात्राबाट नेपाली क्रिकेटले धेरै उपलब्धी हासिल गर्यो  सोमबार नामिबियाबाट फर्किएपछि पुबुदुले नागरिकसँग भने, ‘डिभिजन १ हैसियतको विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने सम्भावनाले नेपाली क्रिकेटलाई दीर्घकालीन फाइदा दिनेछ।'
नेपाली टोलीसँग माथिल्लो स्तरका विपक्षीलाई हराउने क्षमता रहेको विश्वास गर्ने प्रशिक्षकले च्याम्पियनसिप र आगामी विश्वकप छनोट खेल्न पाउनुलाई ठूलो उपलब्धी बताएका छन्। 
‘नेपाली क्रिकेटलाई लगातार माथिल्लो स्तरका विपक्षीविरुद्ध खेल आवश्यक थियो। विश्व क्रिकेट लिग च्याम्पियनसिप र विश्वकप छनोटले हामीलाई यो अवसर दिनेछन्,' पुबुदुले भने, ‘नेपाल त्यो स्तरमा छनोट हुनु ठूलो कुरा हो। हामीले नेदरल्यान्ड्स, अफगानिस्तान र आयरल्यान्डजस्ता टिमसँग निरन्तर खेल्न पाउनेछौं।'
आउँदो १८ महिनामा १० टोली रहने च्याम्पियनसिपमा नेपालले सबै विपक्षीसँग ५० ओभरका दुई खेल खेल्न पाउने उनले बताए।
टोलीले हासिल गरेको उपलब्धी थेग्न नेपाली क्रिकेट संरचना तयार रहेकोमा भने पुबुदुले शंका व्यक्त गरे। खेलाडीमा प्रचुर क्षमता भए पनि प्राप्त उपलब्धी रक्षा गर्न घरेलु संरचनामा परिवर्तनका साथै भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने उनले बताए। शनिबार नामिबियामा सम्पन्न डिभिजन २ मा नेपाल चौथो स्थानमा सीमित भएको थियो। ६ टोली सहभागी प्रतियोगिताबाट शीर्ष दुई टोली डिभिजन १ मा बढुवा हुने, तेस्रो तथा चौथो टोली डिभिजन २ मा यथावत रहने र पुछारका दुई टोली रेलिगेसनमा पर्ने प्रावधान थियो। 
नामिबियाको प्रतियोगिताबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी चार वर्ष डिभिजन १ मा रहेका ६ टोलीसँग मिसिएर ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिप तथा चार दिवसीय स्वरूपको अन्तरमहादेशीय कप खेल्न पाउँछन्। आइसिसीका विकास निर्देशकहरूले भने डिभिजन २ का शीर्ष चारभित्र पर्ने टोलीलाई ५० ओभरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा समावेश गर्ने प्रस्ताव गरेको पुबुदुले बताए।

0 टिप्पणियाँ

Write Down Your Responses