क्यानले खेलाडी अनुबन्ध गर्ने

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रियस्तरका २२ खेलाडीलाई मासिक निश्चित पारिश्रमिक उपलब्ध गराउने गरी सेन्ट्रल कन्ट्र्याक्ट गर्ने तयारी गरिरहेको छ। वर्तमान राष्ट्रिय टोलीका बैकल्पिकसहित सबै १८ र विभिन्न उमेर समूहका चार प्रतिभावान खेलाडीलाई चार वर्गमा विभाजन गरी यसै साता सम्झौता गर्न लागेको क्यानले जनाएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट एसोसिएट राष्ट्रका लागि 'हाइपर्फमेन्स प्रोग्राम' अन्तर्गत आउने बजेट खेलाडीकै लागि खर्च गर्ने उद्देश्यअनुरुप सम्झौता गर्न लागिएको हो । जनवरी १ बाट लागू हुनेगरी खेलाडीसँग एकवर्षे सम्झौता गरिनेछ। त्यसपछि प्रत्येक वर्ष समीक्षासाथ नवीकरण गर्ने क्यानको योजना छ। राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँगको सल्लाहअनुसार क्यानले कन्ट्रयाक्ट गर्न लागेको हो । कन्ट्रयाक्टका लागि क्यानले २२ खेलाडीलाई चार वर्गमा विभाजन गरेको छ। कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्लसहित ६ जना 'ए' वर्गमा परेका छन् भने 'बी' र 'सी' वर्गमा पनि ६–६ जना छन्। सेन्ट्रल कन्ट्रयाक्टका लागि छानिएका बाँकी चार खेलाडी 'डी' वर्गमा परेका छन्। क्यानले कन्ट्रयाक्टका लागि तयार गरेको प्रारम्भिक प्रस्तावअनुसार 'ए' वर्गमा पर्ने खेलाडीले मासिक ३५ हजार रुपैयाँ पाउने छन् भने 'बी' मा पर्नेले मासिक २५ हजार पाउने व्यवस्था छ। यसैगरी 'सी' मा पर्नेलाई १० हजार रुपैयाँका दरले दिने प्रस्ताव गरिँदा 'डी' मा पर्नेलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहनस्वरुप दिने बताइएको छ। 'ए' वर्गमा पारस र ज्ञानेन्द्रसहित शरद भेषावकर, शक्ति गौचन, वसन्त रेग्मी र सुवास खकुरेल छन्। 'बी' मा सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, अमृत भट्टराई, विनोद भण्डारी र भुवन कार्की छन् भने 'सी' वर्गमा जितेन्द्र मुखिया, आरिफ शेख, अनिल मण्डल, राहुल विश्वकर्मा, प्रदीप ऐरी र महबुब आलम परेका छन्। 'डी' वर्गमा भने राष्ट्रिय टोलीका नवप्रवेशी करण केसीसहित राजेश पुलामी र रामनरेश गिरीको नाम प्रस्तावित छ। 'डी' मा समावेश गरिने चौथो खेलाडीको नाम निर्णय भइसकेको छैन। त्यसमा लामो समयदेखि चोटसँग संघर्ष गरिरहेका पृथु बास्कोटा र अविनाश कर्णमध्ये एक हुनसक्ने बताईएको छ 

0 टिप्पणियाँ

Write Down Your Responses