हङकङ र मकाउमा 'एमआरपी शिविर'

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ र मकाउका नेपालीलाई समयमै एमआरपी– मेशिन रिडेवल पासपोर्ट दिलाउन महवाणिज्य दूताबासले फारम संकलन शीविर सञ्चालन गरेको छ। दुई महिनाअघि पहिलो पटक हङकङस्थित कार्यालय बाहिर शीविर राखेर फारम संकलन गरेको दूताबासले आइतबार दोस्रो शीविर चलाएको हो। हङकङको नेपाली बाहुल्य क्षेत्र जोर्डनस्थित नमोबुद्ध आमा समूहको कार्यालयमा आइतबार दूताबासले राखेको दोस्रो शीविरमा फारम बुझाउनेको भीड थियो। नेपालीको सघन बस्ती रहेको अर्को क्षेत्र युङलोङस्थित सगरमाथा किण्डर गार्टेनमा माघ ४ गते तेस्रो शीविर राख्ने दूताबासले जनाएको छ। दूताबासले एमआरपी पासपोर्टका लागि फारम संकलन गर्न कार्यालय समय एक घण्टा बढाएको छ भने मकाउमा पनि शीविर राख्ने तयारी गरेको छ।
हङकङमा करिब ३० हजार नेपाली रहेकोमा अहिलेसम्म १४ हजार सात सयले एमआरपी पासपोर्ट लिइसकेका छन् भने करिब दश हजारले लिन बाँकी रहेको दूताबासको अनुमान छ। झण्डै तीन हजार नेपाली कामदार रहेको मकाउमा एक सय पचास जना जति एमआरपी पासपोर्ट लिन बाँकी छन्। अति व्यस्त रहनु पर्ने कामबाट आइतबार मात्र छुट्टी मिल्ने र त्यो दिन दूताबास बन्द रहने हुँदा पासपोर्ट फारम बुझाउन समस्या आइपरेको गुनासो शीविर सञ्चालनपछि कम भएको छ।

0 टिप्पणियाँ

Write Down Your Responses