कालिज मार्न गएका यूवक आफै मृत भेटिए

दोलखाको मिर्गे गाविस वडा नं ९ स्थित यार्साका २५ वर्षीय युवक चन्द्रबहादुर खत्रीको भरुवा बन्दुकको गोली लागी शुक्रबार राति मृत्यु भएको छ ।
घर नजिककैको जङ्गलमा कालिज मार्न गएका खत्री राति अबेरसम्म घर नआएपछि उनका श्रीमतीसहित गाउँलेले उनको खोजीमा जाने क्रममा खत्रीलाई जङ्गलमा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी अजय केसीले जानकारी दिनुभयो । उनको छातीमा गोली लागेको अवस्थामा रुखको फेदमा खत्रीलाई भेटिएको जनाइएको छ । घटना राति ८ बजेतिर घटे पनि प्रहरीलाई १:३० बजेमात्र जानकारी भएको र तत्कालै डिएसपी केसीको नेतृत्वमा प्रहरी घटनास्थल पुगेका थिए ।
घटनास्थलमा प्रहरीले मृतकको साथबाट एउटा पड्किसकेको भरुवा बन्दुक र गुलेली फेला पारेका छन् । एक्लै सिकार गर्न गएका खत्रीको छातीमा गोली लागेको घटना शङ्कास्पद भएको भन्दै थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शव परीक्षणका लागि सदरमुकाम चरिकोट ल्याइएको छ । रासस

0 टिप्पणियाँ

Write Down Your Responses