जनजाति नेताहरु भारतीय दूतावास गएर भारतलाई धन्यवाद चढाए

आश्विन २०, २०७२- आदिवासी जनजाति नेताले संविधानमा आफ्ना मुद्दा र आन्दोलनप्रति समर्थन जुटाउन बुधबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका तर्फबाट दूतावासको ध्यानाकर्षण गराएका हुन् ।

आन्दोलनका संयोजक तुलाधर उपत्यका बाहिर रहेको जनाउँदै आन्दोलकै सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाको नेतृत्वको टोलीले राजदूत रणजीत रायलाई भेटेको हो ।
‘तराई मधेसमा मधेसी र थारुले जुन मुद्दा लिएर आन्दोलन गरे त्यसमा आदिवासी जनजातिको पूर्ण समर्थन छ,’ नयाँ संविधानको स्वामित्व जनजातिले लिन नसकेको उल्लेख गर्दै नेता शेर्पाले भने, ‘मधेसमा उठेका मुद्दालाई भारतले साथ दिएकोमा धन्यवाद दियौं र त्यसका साथमा आदिवासी जनजातिले समेत नयाँ संविधानको स्वागत गर्ने वातावरण निर्माण गराउनका निम्ति ध्यानाकर्षण गरायौं ।’

जनजाति र सरकारबीच विगतमा भएको सम्झौतालाई संविधानले सम्बोधन नगरेकाले आदिबासी आन्दोलन जारी रहेको उनले बताए । ‘मधेसी र थारुको मुद्दालाई भारतले जसरी समर्थन गरेको छ अब अन्तर्राष्ट्रिय समुदायले पनि आदिवासीको मुद्दामा समेत एकसाथ समर्थन जुटोस् भन्ने चाहन्छौं,’ शेर्पाले भने ।

राजदूतसितको भेटमा महासंघका पूर्वमहासचिव तथा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङ्काजी शेर्पा, संघीय लिम्बुवानका नेता खगेन्द्र माखिम, मगर संघका अध्यक्ष महेन्द्र थापामगर, शेर्पा संघका अध्यक्ष एडी शेर्पालगायत थिए । जनजाति नेताले राष्ट्रिय आन्दोलनको अनुरोध र दूतावासको आग्रहमा राजदूतसित भटेको जनाए ।

ती नेताले नेपालको हरेक ऐतिहासिक आन्दोलनको मोडमा भारतले साथ दिएकोले अहिले पनि मधेसी, थारु, आदिवासी जनजातिको मुद्दालाई संविधानमा सुनिश्चित गर्न साथ मागेका जनाए । ‘मुलुकमा राणा शासन हटाउन राजा त्रिभुवन र राजा हटाउन दलहरुलाई सहयोग गरेजस्तै अहिले आदिबासी जनजातिको समेत संविधानमा अपनत्व हुने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छौं,’ भेटपछि अर्का नेता आङकाजीले भने ।

जवाफमा भारतीय राजदूत रायले आफूहरुले मेलमिलाप र सबैको सहमति होस् भन्ने चाहेको बताएका थिए । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नखोजेको उल्लेख गर्दै मधेस आन्दोलनलाई लिएर भारतप्रति गलत ढंगले व्याख्या गरिएको उल्लेख गरेका थिए । ‘भारत नेपालमा दिगो शान्ति, सम्बृद्धि र मेलमिलाप कायम रहोस् भन्ने चाहन्छ,’ राजदूत रायको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘छिमेकी मुलुकको हस्तक्षेप कहिल्यै गर्दैनौं । यहाँ (नेपालमा) अशान्ति भए त्यसको प्रत्यक्ष असर भारतमा पर्छ । तर सहमतिबाटै केही ढिलो गरी संविधान जारी होस् भन्ने मत राख्दा हतारमा जारी गरिएकोले मधेस आन्दोलनले उग्रता लियो । त्यो भारतको कारणले होइन ।’

जनजाति नेता र राजदूत रायबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।

0 टिप्पणियाँ

Write Down Your Responses