नेपालले टेस्ट क्रिकेटको मान्यताप्राप्त पाकिस्तानसँग खेल्ने

आश्विन २२, २०७२- नेपालले टेस्ट क्रिकेटको मान्यताप्राप्त पाकिस्तानसँग खेल्ने मौका पाएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको पपुवा न्युगिनीसँगको खेल अगाडि नेपालले पाकिस्तानसँग यूएईमा खेल्न लागेको हो ।

इंग्ल्यान्डसँग तीन टेस्ट, चार एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न पाकिस्तान टिम यूएई भ्रमणमा रहेको समयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई यो अवसर मिलाइदिएको हो । पाकिस्तानले इंग्ल्यान्डसँग तेस्रो टेस्ट खेलेपछि नोभेम्बर ८ मा नेपालसँग शारजहाँमा खेल्न लागेको हो । त्यसको तीन दिनपछि पाकिस्तानले अबुधावीमा इंग्ल्यान्डसँग पहिलो एकदिवसीय खेल्नेछ ।

नेपालका प्रशिक्षक पुबुदु दसानायकेले नेपालले पाकिस्तानसँग खेल्न लागेको पुष्टि गरे । तर पाकिस्तानले कस्तो टिम ओराल्छ भन्नेमा उनले पनि अनभिज्ञता जनाए । ‘पाकिस्तानी टिम कस्तो हुन्छ हामीले अझै खबर पाएका छैनौं । टेस्ट खेल्ने राष्ट्रको ‘ए’ टिम नै भए पनि हाम्रा लागि ठूलो अवसर हो,’ दसानायकेले भने ।

पाकिस्तानले नेपालसँग खेल्ने दिन इंग्ल्यान्डले हङकङसँग एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । हङकङसँग एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता भएकाले इंग्ल्यान्डसँगको त्यस खेलले आधिकारिक मान्यता पाउन सक्ने छ । तर नेपालले पाकिस्तानसँग खेल्ने खेल कुन मान्यताको हुने खुलेको छैन । त्यसले लिस्ट ‘ए’ को मान्यता पाउन सक्छ । पाकिस्तानसँग खेलेमा नेपालले टेस्ट खेल्ने राष्ट्रसँग खेलेको यो केवल दोस्रो खेल हुनेछ । गत वर्ष विश्व ट्वान्टी–२० मा नेपालले आयोजक बंगलादेशसँग खेलेको थियो ।

पाकिस्तानले त्यो खेललाई अभ्यासका रूपमा मात्र लिन सक्ने भए पनि दसानायके उक्त खेल खेल्न आफ्नो टिम आतुर रहेको बताए । ‘यो यस्तो म्याच हो जुनबारे हामीले लामो समयदेखि सपना देखिरहेका थियौं । यो खेलको हामी आनन्द उठाउनेछौं र प्रतीक्षा गरेर बसिरहेका छौं,’ दसानायकेले भने । नेपाल प्रशिक्षकका रूपमा यो उनको अन्तिम भ्रमण हो । व्यक्तिगत कारण देखाउँदै उनले मंगलबार एक महिनाभन्दा बढीको समय राखेर राजीनामा दिएका थिए ।

0 टिप्पणियाँ

Write Down Your Responses