पारस खड्कालाई अनुशासनको कारबाही पछि राष्ट्रिय क्रिकेट प्रशिक्षक दासानायकेद्वारा राजीनामा
आश्विन १९, २०७२- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । दासानायकेले मंगलबार नेपाल क्रिकेट संघका कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका थिए । व्यक्तिगत कारण राजीनामा दिएको उनले बताए ।
दासानायके २०११ को अक्टोबर यता नेपाली टोलीको प्रशिक्षकमा छन् । उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा विश्व ट्वान्टी–२० खेलेको थियो, जुन नेपाली खेलकुदकै अहिलेसम्मकै ठुलो उपलब्धि थियो ।
अर्को महिना युएईको अवुधामीमा पपुवा न्यु गिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनशिपको एकदिवसीय खेलसम्म दासानायकेले नेपाली टोली हेर्नेछन् ।
दासानायकेले मंगलबार मात्र कप्तान पारस खड्कालाई अनुशासनको कारबाही अगाडि बढाइएकोमा फेसबुकमार्फत असन्तोष जनाएका थिए । तर उनले राजीनामा दिनुका कारण व्यक्तिगत भएको बताएका छन् ।
‘नेपालको प्रशिक्षक बन्दा मैले कहिल्यै यसलाई जागिरको रुपमा लिइन् । म सँधैं यसमा रमाइरहें । २०१३ मा युएईमा हङकङलाई पराजित गरी ट्वान्टी–२० विश्वकपमा पुग्नु मेरा लागि अविस्मरणीय क्षण थियो,’ दासानायकेले भनेका छन् ।
दासानायकेको कार्यकालमा विश्व क्रिकेट लिग डिभिजन ४ मा रहेको नेपाल अहिले डिभिजन २ मा खेलिरहेको छ ।


0 टिप्पणियाँ
Write Down Your Responses