एएफसी यु–१६ च्याम्पियनसिप–नेपाल ओमनसँग पराजित

काठमाडौँ-एएफसी सोह्र वर्षमुनि उमेर समूहको (यु–१६) च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल ओमनसँग पराजित भएको छ।कीर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा भएको सो प्रतियोगितामा नेपाली युवा टोली ओमनसँग ३–१ गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सपना यसपटक पनि चकनाचुर भएको छ।

अघिल्लो वर्ष थाइल्याण्डमा भएको एएफसी यु–१६ च्यम्पियनसीप छनोटमा पनि नेपाल असफल भएको थियो । त्यतिबेला नेपालले कुवेतलाई मात्र पराजित गरेको थियो भने उज्वेकिस्तान र उत्तर कोरियासँग पराजित हुँदै घर फर्किएको थियो।  यसपटक भने जारी प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्दा पनि ओमनसँगको हारले घर फर्कन बाध्य बन्यो। त्यसो त नेपालको अघिल्लो चरणमा प्रवेश गर्ने या नगर्ने भन्ने सम्भावना अन्य राष्ट्रको खेलको नतिजामा भर पर्नुपर्नेछ।

पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न सफल भएको थियो। त्यस्तै, दोस्रो खेलमा घरेलु टोली कीर्गिस्तानलाई ४–२ ले पराजित गरेको थियो।

एसियाली फुटबल महासङ्घले आफ्ना सदस्य राष्ट्रका ४५ टोलीलाई ११ समूहमा विभाजन गरेको उक्त छनोट प्रतियोगितामा नेपाल शीर्ष चारभित्र परेमा मात्र नेपालको अघिल्लो चरणको सम्भावना हुनेछ अन्यथा नेपाल प्रतियोगिताको छनोटबाट बाहिरिनेछ।

प्रतियोगितामा नेपालले छ अङ्क जोडेको छ भने ओमनको पनि समान छ अङ्क नै छ । तर आज साँझ हुने कीर्गिस्थान र जोर्डनबीचको खेलमा कीर्गिस्थानले जोर्डनलाई पराजित गरेमा वा बराबरी रोकेमा मात्र नेपालको अघिल्लो चरणको सम्भावना हुनेछ अन्यथा प्रतियोगिताबाट बाहिरिनेछ।

प्रतियोगितामा ओमनले खेलको पहिलो हाफमा दुई गोल गर्यो  भने दोस्रो हाफमा एक गोल थप्यो। ओमनले खेल सुरुवाती ११औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोल्यो भने खेलको पहिलो हाफकै अन्तिम समय ४५औँ मिनेटमा थप एक गोल गरेको थियो।

त्यस्तै नेपालका खेलाडी प्रिजेन तामाङले खेलको ९०औँ मिनेटमा पेनाल्टीमार्फत एक सान्त्वना गोल फर्काएका थिए । तामाङले गोल फर्काएको करिब तीन मिनेट पनि बित्न नपाउँदै ओमनका खेलाडीले खेलको दोस्रो हाफको अतिरिक्त समयमा (९० प्लस ३ मिनेट) एक गोल थप्दै ओमनले ३–१ को सहज जित निकाल्यो ।

विभिन्न ११ समूहमा विभाजित उक्त प्रतियोगितामा समूहको शीर्ष स्थान हासिल गर्ने ११ टोली, शीर्ष चार स्थान हासिल गर्ने उपविजेता टोली र आयोजक भारत गरी १६ टोलीले आगामी वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिपमा सहभागिता जनाउनेछन्। रासस

0 टिप्पणियाँ

Write Down Your Responses