पूर्व माओबादी लडाकु मिरा राई अल्ट्रा दौड' मा विश्व उपविजेता बन्न सफल
काठमाडौं : शनिबार स्पेनमा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा दौड' मा नेपाली चेली मिरा रार्इ विश्व उपविजेता बन्न सफल भएकी छन् ।
संसारकै पाँच उत्कृष्ट दौडमध्येको एक सय १० किलोमिटर लामो ‘सालोमन प्रिनेउ अल्ट्रा दौड' मा मिरा राईले विश्वका चर्चित धावकलार्इ पछि पार्दै विश्व उपविजेता बन्न फल भएकी हुन् ।
उनले 'सालोमन प्रिनेउ अल्ट्रा दौड’१३ घन्टा ४३ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेर नेपालको नाम विश्वभर चम्काउन सफल भएकी हुन् ।
विश्वका चर्चित दौडमा दर्जनौं रेकर्ड बनाउँदै उपाधि जितेर अनुभव हाँसिल गर्न सफल स्विटजरल्यान्डकी धाविका इमिली फोर्सब्रगले सोही दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेन्डमा पुरा गरे प्रथम बन्न सफल भइन् ।
यो दौडमा मिराले गत वर्षकी विजेता स्पेनिस धावक नुरियालेलार्इ भने पछार्न सफल भइन् । उनले वर्षकी च्याम्पियन नुरिया प्लाकासलार्इ तेस्रो स्थानमा धकेलिन् ।
स्पेनिस धाविका नुरियाले भने १४ घण्टा १३ मिनेटमा दुरी पार गर्न सफल भइन् ।
नेपाली चेली मिराको हौसला बढाउन स्पेनमा बसोबास गर्दै आएका सयौं नेपाली शनिबार बिहान सबेरैबाट दौड हुने क्षेत्र बागा पहाडमा पुगेका थिए ।
मिरा विश्व उपविजेता भएपछि शनिबार बिहानदेखि दौडस्थलमा जम्मा भएका स्पेनबासी नेपालीले मिरालाई स्वागत र सम्मान गरेका थिए ।
मिरा उपविजेता बन्न सफल भएपछि त्यहाँका नेपालीले राष्ट्रिय झन्डा हल्लाउँदै देशभक्ति झल्किने गीत गाउँदै नेपालको पक्षमा नारा लगाएका थिए ।
यसअघि फ्रान्समा सम्पन्न ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनमा नेपाली चेली मिरा च्याम्पियन बन्न सफल भएकी थिइन् ।
भोजपुरको सानोदुम्मामा जन्मिएकी मिरा १४ वर्षको उमेरमा माओवादीको जनसेनामा भर्ती भएकी थिइन् । माओवादी जनसेनामा हुँदै दौडन सिकेकी उनी शान्ति प्रक्रियाका क्रममा राष्ट्र संघ र नेपाल सरकारले सेनामा समायोजन हुन अयोग्य ठहर गरेपछि एथ्लेटिक्सतर्फ लागेकी थिइन् ।
एथ्लेटिक्सबाट अल्ट्रा म्याराथनर्फ मोडिएकी मिराले विश्व चर्चित र अत्यन्त साहसिक अल्ट्रा दौडमा एक पछि अर्को रेकर्ड बनाउँदै नेपाल र नेपालीलार्इ विश्वभर चिनाइरहेकी छन् ।


0 टिप्पणियाँ
Write Down Your Responses