आखिर किन रोक्यो नेपाल सरकारले इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण

भ्याटिकनका प्रभावशाली इसाई धर्मगुरु फर्नान्डो फिलोनीको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ।
 सरकारले भ्याटिकन सरकारलाई पत्र लेखेर फिलोनीको नेपाल भ्रमण अहिले 'उपयुक्त नरहेको' जानकारी गराएपछि उनको भ्रमण स्थगित भएको हो।एसिया भ्रमणअन्तर्गत हाल बंगलादेशमा रहेका फिलोनी भारत हुँदै मंगलबार काठमाडौं आउने तयारीमा थिए।
परराष्ट्र मन्त्रालयले फिलोनीको नेपाल भ्रमण अहिले उपयुक्त नहुने भन्दै तत्काल रोक्न कूटनीतिक पहल गर्न नयाँदिल्लीस्थित नेपाली दूतावासलाई शुक्रबार निर्देशन दिएको थियो। नेपाली दूतावासले दिल्लीस्थित भ्याटिकन दूतावासलाई फिलोनीको भ्रमण सम्भव नरहेको जानकारी गराइसकेको उच्च अधिकारीले बताए।
नेपाली दूतावासले भ्याटिकन दूतावासलाई पठाएको पत्रमा तत्काल नेपालले उनलाई स्वागत गर्न नसक्ने तर पछि उपयुक्त समयमा भ्रमण मिलाइने उल्लेख छ। धर्मगुरुलाई सुरक्षाप्रबन्ध गराउनसमेत कठिन हुने गृह मन्त्रालयले बताएको थियो।

एक उच्च सरकारी स्रोतका अनुसार नेपालको नयाँ संविधानमा धर्म परिवर्तन गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनुपर्ने विषयलाई राजनीतिक नेतृत्वसमक्ष राख्न कार्डिनल फर्नान्डो नेपाल आउन चाहेको बुझेपछि सरकारले क्रिस्चियन धर्मगुरुको भ्रमण रोक्ने निर्णय गरेको हो।
नेपालको प्रस्तावित संविधानमा जबर्जस्ती वा कुनै रूपमा धर्म परिवर्तन गराउन नपाइने स्पष्ट उल्लेख छ।प्रधानमन्त्री सुशील कोइरालाले धर्मगुरुको भ्रमण रोक्न आवश्यक पहल गर्न परराष्ट्रलाई निर्देशन दिएका थिए।

इसाई धर्मगुरुले नेपालभित्र रहेका क्रिस्चियन चर्चहरू भ्रमण गर्न र क्रिस्चियन समुदायसँग भेटी केही स्थानमा बोल्न आफू इच्छुक रहेको बताएपछि सरकार झस्किएको हो।

भ्याटिकन सरकारी रेडियोले चार दिनअघि समाचार सम्प्रेषण गर्दै इसाई धर्मगुरुले नेपालमा रहँदा उच्च सरकारी अधिकारी र भूकम्पपछिको पुनर्निर्माणमा सहभागी भइरहेका विभिन्न धार्मिक समुदायका व्यक्तिसँग भेट्ने जनाएको थियो।

राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री कोइरालाले भ्याटिकन धर्मगुरुसँग भेट्न अस्वीकार गर्ने जानकारी भ्याटिकन सरकारलाई गराइसकेका थिए। धार्मिक व्यक्तित्व भएका कारण उनको बसाइको चाँजोपाँजो भने संस्कृति मन्त्रालयले गर्ने भनिएको थियो।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले इसाई धर्मगुरु फिलोनी तत्काल नेपाल नआउने बताए। 'उहाँ यहाँ अतिथिका रूपमा आउने भन्ने थियो। तर अहिलेको राजनीतिक परिस्थितिका कारण उहाँको भ्रमण तत्काल हुनेछैन', उनले भने।

0 टिप्पणियाँ

Write Down Your Responses