हिन्दू राष्ट्रको माग बहुमतद्वारा अस्वीकृत

भाद्र २८, २०७२- धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग संविधानसभाको बहुमतले अस्वीकृत गरेको छ । संविधान संशोधिक विधेयकको धारा ४ मा रहेको धर्मनिरपेक्षताको व्यवस्था खारेज गर्न राप्रपा नेपालले गरेको संशोधन प्रस्ताव ध्वनी मतको आधारमा अस्वीकृत भएको हो ।

संविधानसभाको बैठकमा सभाध्यक्ष सुबास नेम्वाङले संशोधन फिर्ता लिन राप्रपा नेपाल अध्यक्ष कमल थापालाई समय दिएका थिए । थापाले फिर्ता नलिने बताएपछि प्रस्ताव ध्वनी मतमा गएको थियो । बैठकमा सभासद भास्कर भदा र कुमार खड्काले पनि धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम हुनुपर्ने प्रस्ताव राखेका थिए ।

राप्रपा अध्यक्ष थापाले बैठकमा आफ्नो प्रस्ताव मतदानमार्फत अघि बढाउन आग्रह गरे पनि सभामुख नेम्वाङले त्यसको लागि ६१ जना सभासदले प्रस्ताव राख्नुपर्ने बताए । धर्मनिरपेक्षता खारेज गरी हिन्दू राष्ट्र कायम गर्नुपर्ने पक्षमा संविधानसभाका २१ सभासद मात्रै थिए ।

संविधानसभाको आजको बैठकमा संविधानको संशोधित विधेयकमाथि मतदान जारी छ । हिजोदेखि संविधानसभामा विधेयकको धारामाथि मतदान सुरु भएको हो । हिजोको बैठकमाले संविधानको ३ वटा धारा पास गरेको थियो ।

0 टिप्पणियाँ

Write Down Your Responses