कृष्ण पाउरोटी उत्पादन गर्ने ठाउँ गाईबस्तुको गोठभन्दा पनि फोहोर
काठमाडौं– वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले मंगलबार कमलपोखरी स्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीमा छापा मारी सिलबन्दी गरिदिएको छ। कृष्ण पाउरोटीको नाउँले ख्याती कमाएको सो बेकरीको उत्पादन कक्ष अत्यधिक फोहोर रहेको जनाउँदै सिलबन्दी गरेको हो। वाणिज्यको टोलीले पाउरोटी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ समेत दूषित पाएको जनाएको छ।
एक महिना अगाडि वाणिज्यको अनुगमन टोलीले सरसफाइमा ध्यान दिन एवं स्वस्थ कच्चा पदार्थको प्रयोग गर्न निर्देशन दिएको थियो। तर दोस्रो अनुगमनमा पनि त्यही समस्या देखिएपछि कम्पनी सिल गरिएको हो।
'उत्पादन गर्ने ठाउँ गाईबस्तुको गोठभन्दा पनि फोहोर पाइयो', अनुगमन टोलीका प्रमुख हरि नारायण बेल्बासेले भने, 'त्यही भएर सिलबन्दी गरिएको हो। कृष्ण पाउरोटी जस्तो चलेको कम्पनीको उत्पादन कक्ष यति फोहोर होला भनेर हामीले सोचेका थिएनौं।' कृष्ण पाउरोटीका सञ्चालकलाई स्पष्टिकरणका लागि विभागमा बोलाइएको उनले जानकारी दिए।
कृष्ण बेकरी एन्ड कन्फेक्सनरीका म्यानेजर विजय पौडेलले उत्पादन क्षेत्रमा सरसफाइमा ध्यान दिइएको दाबी गरे। बाहिर रहेको फोहोरलाई आधार बनाएर सिलबन्दी गर्ने काम गरिएको उनले जानकारी दिए। 'हामी उपभोक्ताको स्वास्थ्यलाई लिएर गम्भीर छौं', उनले भने।


0 टिप्पणियाँ
Write Down Your Responses