चीनले नेपालका लागि सुरु गर्‍यो रेलसेवा

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ ।

काठमाडौंका लागि दैनिक उपभोग्य तथा अन्य व्यापारिक सामान बोकेर चीनको उत्तर पश्चिमी प्रान्त गान्सुको राजधानी लान्झोउबाट बुधबार अपरान्ह मालवाहक रेल छुटेको हो ।
 काठमाडौंका लागि सामान बोकेर आएको रेलले सिगात्सेमा सामान झारेपछि त्यहाँबाट सडकमार्ग हुँदै उपभोग्य तथा व्यापारिक सामान काठमाडौं आइपुग्नेछ ।
 चीनको लान्झोउबाट छुटेको सामान तीन चरण पार गर्दै १० दिनमा काठमाडौं आइपुग्नेछ । लान्झोउबाट सामान बोकेको रेल दुई हजार चार सय ३१ किलोमिटर लामो बाटो छिचोल्दै सिगात्से आइपुग्नेछ ।

त्यसपछि ५ सय ६४ किलोमिटर लामो सडक छिचोल्दै सामान बोकेका कन्टेनर सिगात्सेबाट केरुङसम्म आइपुग्नेछन् । त्यहाँबाट फेरि नेपाली कन्टेनरहरुले १६० किलोमिटर लामो सडक यात्रा छिचोल्दै चीनबाट छुटेका सामान काठमाडौं ल्याइपुर्याउनेछन् ।
 चीनबाट सिधै रसुवागढी नाका हुँदै काठमाडौं आइपुग्ने सामान भारतको बाटो हुँदै समुद्रबाट परम्परागतरुपमा ल्याइने समयमा भन्दा ३५ दिन चाँडो आइपुग्ने चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनले यो सेवाको सुरुवात दुई देशबीचको सहयोग आदानप्रदानलाई अझै मजबुत बनाउनका लागि गरेको जनाएको छ ।


0 टिप्पणियाँ

Write Down Your Responses