पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालकदलका ३ सदस्यसहित २३ को मृत्यु भएको छ ।

फाल्गुन १२, २०७२- पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालकदलका ३ सदस्यसहित २३ को मृत्यु भएको छ । मृत्यु हुनेमा २ बालबालिका र २ विदेशी नागरिक छन् ।

बुधवार बिहान ७ बजेर ५० मिनेमा उडेको  नाइन–एनएएचएच ट्विनटर जहाज म्याग्दीको दाना गाविस २ सोलीघोप्टे भीरमा खसेको हो । विमान वरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए । उडेको १० मिनेटमा प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पुगेलगत्तै जहाज सम्पर्कविहीन भएको थियो ।

‘चालकदलले पोखरा एयरपोर्टको टावरसँग आफूहरु १० हजार ५ सय फीट उचाइमा रहेको र तल जमीन देखिएको भन्दै अन्तिमपटक खबर गरेका थिए,’ नागरिक उड्डयन कार्यालय पोखराका निर्देशक दीपक बरालले भने, ‘लगत्तै सम्पर्कबिहीन भएको थियो । दुर्घटना भएछ ।’ घोरेपानीसम्म जहाज सकुशल रहेको र त्यसपछि घटना भएको उनले बताए ।
जहाज भीरमा ठोक्किएको थियो । ठोक्किएको स्थानभन्दा करीव सय मिटर तल चारैतिर भिरमा शवहरु छरिएका अवस्थामा छन् । साँझ अवेरसम्म पनि जहाजको टुक्रा र रुखमा आगो बलिरहेको थियो । घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयवासीले १९ वटा शव देखेका छन् । तर, खराब मौसकका कारण निकाल्न भने सकिएको छैन । केही शवका टुक्राहरु, जहाजका टुक्रा, पर्स, भिसाकार्ड, जुत्ता कागजात पनि छरपस्ट देखिन्छन् । अधिकांश शव जलेका छन् । महिला र बच्चाका शवहरु भीरमा अडकेको अवस्थामा देखिएका छन् । केही शव चिनिन सक्ने अवस्थामा छन् । ‘जहाज ठोक्किएर दुइतिर शव र जहाजका टुक्रा उछिट्टिएका छन्,’ घटनास्थल पुगेका म्याग्दी प्रहरी प्रमुख डिएस्पी विश्वराज खडकाले भने ।

जहाज करीव ४१ सय मिटरको उचाइमा भीरमा ठोक्किएको छ । दिनभर उक्त स्थानमा कुहिरो लागेको थियो । जहाज रुटभन्दा करीव ३ सय मिटर पश्चिमबाट उडेकाले दुर्घटनामा परेको अनुमान गरिएको छ । दानाको काभ्रे गाउँका टेकबहादुर खडकाले खोजीमा गएको प्रहरी टोलीसमक्ष नियमित भन्दा फरक रुटमा जहाज उडेको र ठूलो आवाज पनि आएको बताएपछि घटनास्थलको पत्तो लागेको थियो । घटनास्थल पोखरादेखि करीव ४० नटीकल माइल टाढा छ । घटनास्थल हेर्दा चालकले रुट डाइभर्ट गरेको देखिने पोखरा विमानस्थलका एयर ट्राफिक कन्ट्रोल इन्चार्ज योगेन्द्रनाथ कुँवरले बताए । ‘नर्मल रुट छाडेर अर्कोतर्फ गएको देखिन्छ,’ उनले भने, ‘मौसमको कारणले रुट छाडेको हुनसक्छ । तर, यसै भन्न सकिन्न ।’ उक्त स्थानमा बिहानैदेखि कुहिरो लागेको स्थानीयले बताएका छन् ।

पोखराबाट उडेको जहाज घोरेपानी कटेपछि जोमसोम टावरको सम्पर्कमा पुग्छ । ‘हाम्रो सीमा भनेको घोरेपानीसम्म हो’, कुँवरले भने, ‘सीमा कटेपछि पोखरा टावरसँग सम्पर्क टुट्छ ।’ घोरेपानीदेखि तातोपानीसम्मको करीव ५ मिनेटको दुरी ‘बफर जोन’ मानिने र त्यस क्षेत्रमा सबै जहाज सम्पर्कबिहीन हुने कुँवरले बताए । ‘भीएचएफ कभरेज हुँदैन, नभएपछि कुनै पनि सम्पर्क हुँदैन’ उनले भने, ‘अग्लो डाँडाको खोंचबाट जहाज जाने भएकाले कुनै पनि सिग्नल टिप्दैन ।’ सामान्यतया १८ देखि २० मिनेटमा जहाज जोमसोम विमानस्थलमा अवतरण हुने गर्छ ।

नेपालका धेरै अप्ठेरा रुटमध्ये पोखरा–जोमसोम एक हो । घोरेपानीदेखि माथिल्लो क्षेत्रमा अधिकांश समय मौसम खराव भइरहन्छ । भौगोलिक विकटताले गर्दा रुट अप्ठेरो रहेको र सतर्कतापूर्वक जहाज चलाउने गरिन्छ । ‘सतर्क रहनुपर्ने रुटमा दुर्घटना भयो,’ पोखरा विमानस्थल प्रमुख बरालले भने ।

घटनास्थल म्याग्दी सदरमुकामबाट ३० किलोमिटर माथि बेनी जोमसोम सडकखण्डको रुप्से छहरादेखि ५ घन्टा ठाडो उकालो स्थानमा छ । चालकदलले घोरेपानी क्रस गरेलगत्तै पोखरा टावरमा जानकारी गराएको थियो । तर, जोमसोम टावरमा भने सम्पर्क नभएको त्यहाँका प्रमुख सूर्य खत्रीले बताए । ताराको बुधवार एउटामात्र फ्लाइट थियो ।

जहाज हराउनासाथ एयर डाइनेष्टी र नेपाली सेनाका हेलिकोप्टरले दिनभर खोजी गरेका थिए । डाइनेष्टीका २ हेलिकोप्टर दानामै राखिएका छन् । सेनाको हेलिकोप्टर भने काठमाडौं फर्किएको छ ।

जहाज उडेको केही समयमा चालक मानन्धरसँग एभिया क्लबको अल्ट्रालाइटका चालक मनोज बिजयन्ले सम्पर्क गरी मौसमबारे जानकारी लिएका थिए । त्यस क्रममा मानन्धरले आफु धम्पुस पुगेको र मौसम खासै राम्रो नरहेको बताएका थिए । त्यसपछि विजयन्ले ह्याप्पी ल्यान्डिङ भनेका र मानन्धरले धन्यवाद फर्काएका थिए ।

घटनास्थल बिकट भएकाले तत्कालै शवको खोजी तथा संकलन हुन सकेन । जतिसक्दो चाँडो उद्धारका लागि पहल गरिएको तर बुधवार सम्भव नभएको क्षेत्रीय प्रशासक शंकर कोइरालाले बताए । ‘घटनास्थल नजिकै हेलीकोप्टर ल्याण्ड गर्ने ठाउँ नभेटिएकाले समस्या भयो,’ उनले भने ।

घटनापछि नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक राजु श्रेष्ठको नेतृत्वमा ४ जनाको टोली पोखरा आएको छ । टोली सम्भव भएसम्म विहीबार घटनास्थल पुग्ने बरालले बताए । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेका छन् । केही सर्वसाधारण पनि पुगेका छन् । उनीहरु सुरक्षित भएर बसेका छन् ।

मृतकको नाम
पाइलट रोशन मानन्धर
कोपाइलट दिकेश नेम्पुङ
एयर होस्टेज रमा रावत
रालरसिद्ध अहमद कुवेती नागरिक
माक सिउ यीङ चिनियाँ नागरिक
एक बालक
एक बालिका
रेवती बराल
मुक्तिनाथ बास्तोला
विनता भट्टचन
कृष्णलाल भट्टचन
दिलकुमारी गौचन
देवीजंग गुरुङ
फेनजक गुरुङ
लक्ष्मी हिराचन
मोतीबहादुर केसी
पवित्रा केसी
लेप्साङ लामा
बालकृष्ण निउरे
कान्छा परियार
डोल्मा छिरिङ शेर्पा
राजकुमार तामाङ र
कमला थकाली


0 टिप्पणियाँ

Write Down Your Responses