भारतले भन्यो- तत्काल नाकाबन्दी खुल्दैन, मानिसलाई समेत आवत-जावतमा रोक

काठमाडौं- भारतले नेपालमा जारी नाकाबन्दी 'तत्काल नखुल्ने' सन्देश दिएको छ। सीमा क्षेत्रमा जारी आन्दोलनले आवागमनमा अवरोध देखिएको तर कुनै प्रकारको नाकाबन्दी नरहेको जिकिर गर्दै भारतीय विदेश मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा 'सीमामा शान्ति नहुन्जेल नाका पूर्ववत रुपमा सञ्चालनमा आउन नसक्ने' स्पष्ट पारेको हो। 'नेपालमा हामी (भारत) ले कुनै प्रकारको अफिसियल वा अनअफिसियल नाकाबन्दी लगाएका छैनौं। विभिन्न नाकाबाट आज पनि ट्रक प्रवेश गरेका छन्,' प्रवक्ता स्वरुपले सञ्चारकर्मीको जिज्ञासामा भने, 'धेरैवटा नाकामा अहिले पनि गम्भीर अवरोध छ। यो अवरोध नेपालतिरको अशान्ति, आन्दोलन र प्रदर्शनका कारण भएको तपार्इंहरुलाई थाहै छ।' यसै बीच भारतीय पक्षले नेपालसँगका प्रमुख भन्सारनाकामा बिहीबार फेरि कडाइ गरेको छ। नेपालमा सामान आयात हुने प्रमुख भन्सारनाका वीरगन्ज, विराटनगर, भैरहवा, नेपालगन्ज र काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ बोकेका गाडी प्रवेश गरेका छैनन्।
 भैरहवा-सुनौली नाकामा तैनाथ सुरक्षाकर्मीले बुधबारदेखि मानिसलाई समेत आवत-जावतमा रोक लगाएका छन्। बेलहिया नाकामा मधेसी मोर्चा र सुरक्षाकर्मीबीचको झडपपछि दुवै देशका सीमावर्ती सुरक्षाकर्मीले सुरक्षाको कारण देखाउँदै सर्वसाधारणलाई रोकेर फर्काउन थालेका हुन्।

महाराजगन्जका डीएसपी पंकजकुमार सिंह र सीमावर्ती प्रहरीचौकीका सई भरत यादवको टोलीले भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोकेका छन्। नेपालको बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरीनिरीक्षक रवीन्द्रबाबु रेग्मी र सशस्त्र प्रहरीनिरीक्षक तुल्सीराम पाण्डेको टोलीले नेपाली नागरिकलाई भारतमा असुरक्षा भएको बताउँदै सीमा नाकाबाटै फर्काउने गरिरहेका छन्। पर्यटक, बिरामी, ट्रेन एवं बसको टिकट लिएका व्यक्तिबाहेक अन्य सबैलाई फर्काउने काम दुवैतर्फबाट भइरहेको प्रहरीनिरीक्षक रेग्मीले बताए।

0 टिप्पणियाँ

Write Down Your Responses