ईपीएस कार्यालयले प्रहरीको सहयोगमा नक्कली परिक्षार्थी पत्ता लगाई पक्राउ
काठमाडौं: कोरियाली भाषा परीक्षामा शनिबार २२ हजार ६ सय ११ परीक्षार्थी सहभागी भएका छन्। पहिलो दिन परीक्षा दिनुपर्ने कुल परीक्षार्थीमध्ये करिब तीन हजार जना अनुपस्थित भएका छन्।
शनिबार कुल २५ हजार पाँच सय ७० जनाले परीक्षा दिने व्यवस्था मिलाइएको थियो। परीक्षा आइतबार सकिनेछ। ईपीएस कार्यालयले दुवै दिन दुई-दुई सिफ्टमा परीक्षा सञ्चालन गरिरहेको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामदार कोरिया पठाउन लिइएको यो छैटौं परीक्षा हो। शनिबार अर्काको नाममा परीक्षा दिन आएका १७ जन नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
ईपीएस कार्यालयले प्रहरीको सहयोगमा नक्कली परिक्षार्थी पत्ता लगाई पक्राउ गरेको जानकारी दिएको छ। उपत्यकाअन्तर्गत लिटिलएन्जल्स् स्कुल, भीएस निकेतन कलेज, ईपीएस कलेज, एलआरआई स्कुल, ह्वाइटहाउस स्कुल अफ टेक्नोलजीलगायतका परीक्षा केन्द्रबाट नक्कली परिक्षार्थी पक्राउ परेका हुन्।
पोखरा केन्द्रमा भने नक्कली परीक्षार्थी फेला नपरेको ईपीएसले जनाएको छ। पहिलोपटक उपत्यकाबाहिर पोखराबाट पनि ईपीएस परीक्षा दिन पाउने व्यवस्था गरिएको हो।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले उपत्यकाका केही केन्द्रबाट १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका जानकारी दिए। ‘परीक्षा निकै शान्तपूर्ण वातावरण भयो । फारम भरकामध्ये शनिबार झन्डै तीन हजार परीक्षार्थी अनुपस्थित भए', उनले भने।
यसपटकको परीक्षामा सहभागी हुन कुल ५१ हजार एक सय ३७ जनाले आवेदन फारम भरेका छन्। यसमध्ये पोखराबाट चार हजारले फारम भरेका हुन् भने बाँकी सबै परीक्षार्थीले काठमाडौं उपत्यकाबाट परीक्षा दिँदैछन्।
ईपीएसले पोखरामा तीन र काठमाडौंमा १५ वटा गरी कुल १८ वटा परीक्षा केन्द्र तोकेको छ। पहिलो सिफ्टको परीक्षा ८:३० देखि ११:१० सम्म र दोस्रो सिफ्ट १:०० देखि ३:४० मा सकिने व्यवस्था मिलाइएको छ।
परीक्षा सञ्चालन गर्न एचआरडी कोरियाका उपाध्यक्षको नेतृत्वमा ५२ जनाको टोली आएको छ। टोली काठमाडौं र पोखरामा परिचालित भएको छ। दक्षिण कोरिया नेपाली कामदारका लागि रोजगारीको आकर्षक गन्तव्य हो।
त्यहाँ मासिक न्यूनतम एक लाख नौ हजार रूपैयाँ कमाइ हुन्छ। हाल करिब २८ हजार नेपालीले कोरियामा काम गरिरहेका छन्। कृषि र उद्योगमा नेपालीले काम गरेका छन्।
ईपीएसमा दुवै देशले सरकारी तवरमा कामदार पठाउने र लिने गर्दैआएका छन्। कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट विदेशी कामदार लिने गरेको छ।
विगतमा गएका कामदारको कार्यशैलीबाट रोजगारदाता सन्तुष्ट भएका छन्। पछिल्लो समय अवधि सकिएपछि पनि बस्नेक्रम बढेकाले त्यहाँ अवैध नेपालीको संख्या भने बढ्दोक्रममा छ।


0 टिप्पणियाँ
Write Down Your Responses